पोखरा–१७, बिरौटा – भक्तिभाव, श्रद्धा र आध्यात्मिक ऊर्जा सँगै श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को पूर्वसन्ध्यामा आयोजित श्रीमद्भागवत कथा प्रवचन कार्यक्रम दिन–प्रतिदिन झन् भव्य बन्दै गएको छ। स्थानीय भक्तजन, साधुसन्त, प्रतिष्ठित व्यक्तित्वदेखि राजनैतिक अगुवासम्मको उपस्थितिले कार्यक्रमको महत्त्व थप उजागर भइरहेको छ।
शनिबारको विशेष कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा नं. २ का अध्यक्ष दिवशमान प्रधानाङ्गा सहभागी भए। देवी प्रतिभा जीले कथा आरम्भ गरेको दिनको पहिलो प्रवचन सुनेपछि अध्यक्ष प्रधानाङ्गाले कोटिहोम महायज्ञलाई उपयुक्त स्थानमा भएको बताउँदै सबैले मिलेर यसलाई सफल पार्नुपर्नेमा जोड दिए।
"श्री गण्डकी कोटिहोम महायज्ञ पोखराको सुन्दरता, जनसंख्या र धार्मिक चेतनाका हिसाबले अत्यन्तै उपयुक्त स्थानमा भइरहेको छ," अध्यक्ष प्रधानाङ्गाले भने, "यसलाई सफल पार्नु हाम्रो साझा कर्तव्य हो, विशेष गरेर पोखराबासी हामी सबैको उत्तरदायित्व पनि हो।"
उनले पोखरालाई विश्वभर चिनाउन र पर्यटन वर्षलाई सफल बनाउन यस्ता धार्मिक अनुष्ठानहरूको ठूलो भूमिका हुने उल्लेख गरे। शनिबारको प्रवचनमा देवी प्रतिभा जीसँगै आचार्य शितल कृष्ण महाराज पनि कथा वाचनमा सहभागी हुनु भयो, जसले कार्यक्रमलाई अझ दिव्य बनायो।