पोखरामा श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ भव्य रूपमा जारी, देवी प्रतिभाजीको बिरौटा परिक्रमा
पोखरा, १३ वैशाख २०८२
पोखरा–१७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ–२०८२ भव्य रूपमा सञ्चालन भइरहेको छ। धार्मिक पर्यटन प्रवर्द्धन र पोखरालाई आध्यात्मिक मुक्तिद्वारको रूपमा स्थापित गर्ने उद्देश्यसहित सुरु गरिएको यो ४१ दिने महायज्ञ २०८२ जेठ २६ गतेसम्म सञ्चालन हुनेछ।
मानव सेवा फाउण्डेशनद्वारा आयोजित महायज्ञमा चर्चित कथा वाचिका देवी प्रतिभाजीले हालै बिरौटा बजार परिक्रमा गर्दै धार्मिक जागरणको सन्देश प्रवाह गरेकी छन्। भक्तिभाव र समर्पणका साथ परिक्रमा गरी उनले स्थानीय समुदायमा आध्यात्मिक ऊर्जा संचार गरेकी छन्।
महायज्ञमा निरन्तर हवन, कथा वाचन, प्रवचन, पूजापाठ, आरती, सत्सङ्ग, भजन तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। आयोजकका अनुसार वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण सम्पन्न भइसकेको छ। भागवत कथा प्रवचन सुश्री अनुराधा पाण्डेले सुरु गरेकी थिइन् भने अहिले देवी प्रतिभाजीले दैनिक प्रवचन सञ्चालन गरिरहेकी छन्। आगामी दिनहरूमा दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायत राष्ट्रियस्तरका धर्मगुरुहरू पनि सहभागि हुनेछन्, सह-निर्देशक युवक लामिछानेले जानकारी दिनुभयो।
महायज्ञ प्रचारका लागि सामाजिक सञ्जालमा छोटा भिडियो निर्माण गर्नेहरूलाई २५,००० रुपैयाँसम्मको नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिनेछ। सहभागीहरूले मानव सेवा फाउण्डेशनको आधिकारिक पेज ट्याग गरी #मानवसेवाफाउण्डेशन र #गण्डकीकोटिहोम ह्यासट्याग प्रयोग गर्नुपर्नेछ।
साधु–सन्त, धर्मगुरु, स्वयंसेवक, महिला समूह, बालबालिका, जनप्रतिनिधि र वडाध्यक्षसम्मको सक्रिय सहभागिताले महायज्ञलाई पोखरेली समाजको साझा उत्सव बनाएको छ। धार्मिक आस्था र रचनात्मक अभिव्यक्तिको संगम बनेको यो महायज्ञले धार्मिक पर्यटन प्रवर्द्धनमा दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ।
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
April 26, 2025
Rating:




No comments