कोटीहोममा हमालको विशेष उपस्थिती, राधिका दासीको प्रवचनमा ठूलो जनसहभागिता
पोखरा, जेठ २० – पोखरामा भव्य रूपमा सञ्चालन भइरहेको श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आइतबार नेपाली फिल्मका महानायक राजेश हमालको विशेष सहभागिता देखिएको छ। भ्वाइस अफ नेपाल सिजन ६ का विजेता प्रशेष पाण्डेको गीतमा हमालले भक्तजनहरूसँग नृत्य गर्दै उत्साह थपेका थिए। हमालसँगै कोटीहोमका संकल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराज पनि सहभागी थिए।
हमालले कोटीहोमलाई ऐतिहासिक धार्मिक उत्सव भन्दै यस्तो पवित्र कार्यक्रममा सहभागी हुने अवसर पाएकोमा आयोजकप्रति कृतज्ञता व्यक्त गरे। उनले सतमार्गको अनुसरणबाट जीवनको सार्थकता प्राप्त हुने धारणा राखे।
त्यसैदिन कथा वाचिका राधिका दासीको श्रीमद्देवी भागवत प्रवचन पनि जारी रह्यो। भारी वर्षा र सार्वजनिक यातायात बन्द हुँदासमेत २ लाख ५० हजारभन्दा बढी भक्तजन उपस्थित रहेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए। हालसम्म कोटीहोममा २० लाखभन्दा बढी भक्तजन सहभागिता जनाइसकेको बताइएको छ।
राधिका दासीले कोटीहोमको आध्यात्मिक वातावरणलाई मुक्तिनाथ, गुप्तेश्वर र ताल बाराही माताको विशेष छायामा रहेको पुण्यस्थल भन्दै, यस्तो अद्भुत अवसर जीवनमा विरलै आउने उल्लेख गरिन्। धर्मबाट विमुख हुँदा अनर्थ हुने चेतावनी पनि उनले प्रवचनमा दिइन्।
महायज्ञमा २१ करोड दीप प्रज्वलन, तुला दान, ग्रहशान्ति, विवाह, व्रतबन्ध, चौरासी पूजन, सहस्रार्चन, विविध पाठ, व्रत उद्यापन तथा पितृ उद्धार र पारिवारिक शान्तिका लागि विभिन्न अनुष्ठानहरू जारी छन्।
कोटीहोम पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर र वरपरको क्षेत्रमा जेठ २६ गतेसम्म सञ्चालन हुनेछ।
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
June 04, 2025
Rating:



No comments