पोखरामा श्रीमद् देवीभागवत कथा वाचिका राधिका दासीको आगमन, जेठ १७ देखि १० दिन कथा वाचन

 पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा नेपालकी ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, श्रीमद् देवीभागवत कथा वाचीका तथा समाजसेवी भागवत मञ्जरी राधिका दासीको आगमन जेठ १६ गते हुने भएको छ। उनी जेठ १७ गतेदेखि १० दिनसम्म श्रीमद् देवीभागवत कथा वाचन गर्ने कार्यक्रम तय भएको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए।

मोरङमा जन्मिएकी राधिका दासीले यस्ता ऐतिहासिक सय कुण्डीय यज्ञमा कथा वाचन गर्न पाउनु आफ्नो सौभाग्य भएको बताउँदै सबै भक्तजनलाई सहभागी हुन आग्रह गरेकी छन्। यसअघि तय गरिएको कार्यक्रम अनुसार उनी जेठ १४ गते आउने भनिए पनि व्यस्तताका कारण कार्यक्रम दुई दिन पछाडि सरेको हो।

यसअघि जेठ १० गतेदेखि अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभाले कथा वाचन गरिरहेकी छन्, जुन कार्यक्रम जेठ १६ गतेसम्म जारी रहनेछ। त्यसपछि राधिका दासीले कथा वाचनको जिम्मेवारी सम्हाल्नेछिन्।

महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजयकृष्णमूर्तिजी महाराजले देवी प्रतिभालाई बहिनी र राधिका दासीलाई माता स्वरूप मानेको उल्लेख गर्दै उनीहरूको प्रवचनले आफूलाई ऊर्जा प्राप्त भएको बताएका छन्। उनले भक्तजनलाई यस अवसरको सदुपयोग गर्न आग्रह गरेका छन्।


कोटिहोममा देश-विदेशका साधु, सन्त, महन्तहरूले श्रुतिमधुर प्रवचन दिइरहेका छन्। साथै, 'सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी' शीर्षकमा खुला वक्तृत्वकला प्रतियोगिता पनि सञ्चालन भइरहेको छ, जसमा देशभरका ९० भन्दा बढी प्रतियोगी सहभागी छन्। प्रतियोगिता संयोजक डा. तुलसी प्रभास खनालले भोलि विशेष प्रशिक्षण सत्रको आयोजना हुने जानकारी दिएका छन्।

कोटिहोम मानव सेवा फाउन्डेसनले सञ्चालन गरेको हो, जसले ललितपुरमा मामाघर अनाथालय तथा भक्तपुरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि सहयोग संकलन गरिरहेको छ। महायज्ञमा भाग लिन आएका विविध आध्यात्मिक व्यक्तित्वहरूले प्रवचन दिइरहेका छन् भने रक्तदान, राष्ट्रिय भजन प्रतियोगिता तथा अन्य धार्मिक गतिविधिहरू पनि सञ्चालन भइरहेका छन्।

चार सयभन्दा बढी ब्राह्मणहरूले दैनिक रूपमा हवन कुण्डमा आहुति दिइरहेका छन्। मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाका अनुसार, सहभागीहरूले हवन सामग्री दान गर्न, हवन कुण्डको परिक्रमा गर्न तथा विभिन्न धार्मिक अनुष्ठान—जसमा तुला दानदेखि श्रीसूक्त पाठ, ग्रह शान्ति, पितृ उद्धार, विवाह, व्रतबन्ध, रोग निवारण आदि कार्यहरू—मा सहभागी हुने व्यवस्था गरिएको छ।

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको भजन, झाँकी, देवलीला, नृत्य लगायतका सांस्कृतिक प्रस्तुति समावेश छन्। पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको क्षेत्र र आसपासको जग्गामा सञ्चालन भइरहेको यो कोटिहोम कार्यक्रम जेठ २६ गतेसम्म जारी रहनेछ।

पोखरामा श्रीमद् देवीभागवत कथा वाचिका राधिका दासीको आगमन, जेठ १७ देखि १० दिन कथा वाचन पोखरामा श्रीमद् देवीभागवत कथा वाचिका राधिका दासीको आगमन, जेठ १७ देखि १० दिन कथा वाचन Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on May 27, 2025 Rating: 5

No comments

Videos