कोटिहोममा भक्तजनको भीड, भोलि गायिका समीक्षा अधिकारीको प्रस्तुति

 पोखरा, २५ वैशाख — पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ। महायज्ञमा जसले जे सक्छ, त्यसअनुसार दान गर्न सक्ने व्यवस्था भएपछि सहभागी संख्या उल्लेख्य रूपले बढेको हो।


कोटिहोममा देशभरका संघ–संस्था, आमा समूह र व्यक्तिहरूबाट सहयोग प्राप्त भइरहेको छ। बिहीबार मात्र पञ्चराम गुरुङले ५१ हजार, दिननाथ तिमिल्सिनाले २५ हजार ५, र राधिका खत्रीले २५ हजार २५ रुपैयाँ दान गरे।

कार्यक्रममा गुरुङले कोटिहोमलाई "तपोभूमि" र "देवभूमि" भन्दै हिन्दु राष्ट्र पुनःस्थापनाको तर्क समेत राखे। महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिले कठिनाइका बाबजुद ऐतिहासिक महायज्ञ सम्पन्न हुँदै गएको बताए।

कोटिहोममा हास्य कलाकार जोगिन्दर पानवाला, महिला रेस्लर भगवती खड्का युनिका, एनआरएन नेता विश्व बास्तोला, शारदा पौडेल, र सुनिता थापा लगायतको उपस्थिति रहेको थियो।

भोलि शुक्रबार गायिका समीक्षा अधिकारी र शनिबार लोकगायक पशुपति शर्मा, राधिका हमाल तथा आइतबार अस्मीता ढल्कोटीको प्रस्तुति रहनेछ। जेठ पहिलो साता "सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी" विषयक राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता हुनेछ।

वैशाख २७ मा १,००० बढी कन्या बालिकाद्वारा पूजा, वैशाख २९ मा चौरासी पूजन, सवा करोड शिवलिङ निर्माण, २१ कोटि दीप प्रज्वलन, तुला दान, शुभ विवाह, रुद्राभिषेकजस्ता विशेष धार्मिक कर्महरू आयोजना हुनेछन्।

महायज्ञ अवधिभर दैनिक ४ सयभन्दा बढी ब्राह्मणद्वारा आहुति अर्पण भइरहेको छ। व्रतबन्ध, कथा वाचन, भजन, नृत्य र झाँकी प्रस्तुतिहरू भइरहेका छन्। कोटिहोम जेठ २६ सम्म सञ्चालन हुनेछ।

कोटिहोममा भक्तजनको भीड, भोलि गायिका समीक्षा अधिकारीको प्रस्तुति कोटिहोममा भक्तजनको भीड, भोलि गायिका समीक्षा अधिकारीको प्रस्तुति Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on May 08, 2025 Rating: 5

No comments

Videos