जेठ दोस्रो साताबाट कोटिहोममा श्रीमद देवी भागवत कथा वाचन गर्ने प्रसिद्ध वाचिका राधिका दासीको आगमन

 पोखरा, २७ वैशाख — पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा नेपालकी प्रख्यात आध्यात्मिक व्यक्तित्व, समाजसेवी तथा श्रीमद देवी भागवत कथा वाचिका राधिका दासीको आगमन हुने भएको छ।

कोटिहोम प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार राधिका दासी यही २०८२ सालको जेठ १४ गतेदेखि २२ गतेसम्म कोटिहोम परिसरमा श्रीमद देवी भागवतको वाचन गर्ने कार्यक्रम तय भएको छ। कथा वाचनको लागि उनको आगमनले महायज्ञमा धार्मिक गाम्भीर्यता थपिने विश्वास लिइएको छ।

राधिका दासीले कोटिहोममा सहभागी सबै भक्तजनलाई एकपटक अनिवार्य रुपमा सहभागिता जनाउन आह्वान गरेकी छन्। उनले भनिन्, “पोखरामा यति भव्य र सव्य रुपमा कोटिहोम भइरहेको छ। देशका हरेक कुनाबाट पाल्नु होला, किनभने यस्तो दुर्लभ अवसर जीवनमा विरलै आउँछ। शतकुण्डीय गायत्री कोटिहोममा सम्पूर्ण भक्तजनलाई चल्लै निमन्त्रणा छ।”

आज शनिवार, वैशाख २७ गते, बिहान ९ बजेदेखि तीनदेखि नौ वर्ष उमेर समूहका १,००० बढी कन्या बालिकाहरूको विशेष पूजामा सहभागिता रहेको जानकारी संयोजक ढकालले दिएका छन्। त्यसैगरी, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई बिहान १० बजेदेखि विशेष सम्मान कार्यक्रम पनि आयोजना गरिएको छ, जसले दिनभर निरन्तरता पाउनेछ।

यही दिन चर्चित लोकगायक पशुपति शर्मा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालको भजन तथा विशेष सांगीतिक कार्यक्रमसमेत रहेको छ। आइतबार लोकदोहोरी गायिका अस्मिता डल्लाकोटीको सांगीतिक प्रस्तुति रहने जानकारी दिइएको छ।

महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिले भक्तजनको निरन्तर सहभागिता र समर्थनले आफ्ना धार्मिक संकल्पहरू पुरा हुँदै गएको बताएका छन्।

कोटिहोमको जेठ पहिलो साता “सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी” शीर्षकमा राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगिता हुने कार्यक्रम पनि तय भएको छ। प्रतियोगिता संयोजक डा. तुलसी प्रभास खनालका अनुसार कक्षा ८ देखि १२ सम्म तथा एसईई र कक्षा ११ को परीक्षा दिइसकेका विद्यार्थीहरू पनि प्रतियोगितामा सहभागी हुन सक्नेछन्।


प्रतियोगितामा प्रथम हुनेलाई ५१,१५१ रुपैयाँ, दोस्रोलाई ४१,१४१, तेस्रोलाई ३१,१३१ र सान्त्वना पुरस्कारस्वरूप २१,१२१ रुपैयाँसहित विविध सम्मान प्रदान गरिनेछ।

वैशाख २९ गते कोटिहोममा चौरासी पूजन कार्यक्रम आयोजना गरिनेछ, जसअन्तर्गत सवा करोड पार्थिव शिवलिंग निर्माण गरी भगवान् शिवको आशीर्वाद प्राप्त गर्ने विशेष धार्मिक क्रिया, १८ पुराण, ४ वेद र १०८ श्रीमद्भागवत पाठ पारायण साथै वेद, पुराण वा भागवतको कर्ता बन्ने अवसर, र भूमिपूजनमा सहभागी हुनका लागि आफ्नै घरको जमिनको माटो ल्याउने व्यवस्था गरिएको छ।

पितृ उद्धार, पारिवारिक सुख–शान्ति र समृद्धिका लागि २१ कोटि दीप प्रज्वलन, तुला दान, शुभ विवाह, रुद्राभिषेक, अति रुद्री, लघुरुद्री लगायतका धार्मिक कर्ममा सहभागी हुने विस्तृत व्यवस्था पनि रहेको छ।

महायज्ञमा ४ सयभन्दा बढी ब्राह्मणले दैनिक आहुति अर्पण गरिरहेका छन्। मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाका अनुसार १ सय कुण्डीय हवन कुण्डका लागि आवश्यक जौ, तिल, घिउ लगायत सामग्री दान गर्न सकिने तथा परिक्रमा गर्न सकिने व्यवस्था गरिएको छ। साथै धार्मिक विधिअनुसार सामूहिक व्रतबन्ध कार्यक्रम पनि सफलतापूर्वक सम्पन्न गरिएको छ।


कोटिहोममा वैशाख २८ देखि जेठ ३ गतेसम्म वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, जेठ १४ देखि २२ गतेसम्म राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, र दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज को प्रवचन हुनेछ भन्ने जानकारी आयोजक समिति सह–निर्देशक युवक लामिछानेले दिएका छन्।

साथै, कार्यक्रम अन्तरगत राष्ट्रिय भजन प्रतियोगिता, खुला रक्तदान कार्यक्रम, भारतीय आचार्य प्रशान्त कृष्ण पराकुशजीबाट रामायण प्रवचन, वाचिका सुप्रिया मार्फत दैनिक कथा वाचन लगायतका विशेष कार्यक्रमहरू जारी छन्।


पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा तथा आसपासका स्थानीयको सहयोगमा सञ्चालित यो विराट धार्मिक कार्यक्रम जेठ २६ गतेसम्म सञ्चालन हुने छ।

जेठ दोस्रो साताबाट कोटिहोममा श्रीमद देवी भागवत कथा वाचन गर्ने प्रसिद्ध वाचिका राधिका दासीको आगमन जेठ दोस्रो साताबाट कोटिहोममा श्रीमद देवी भागवत कथा वाचन गर्ने प्रसिद्ध वाचिका राधिका दासीको आगमन Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on May 10, 2025 Rating: 5

No comments

Videos