गण्डकी कोटिहोममा राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता हुने

 पोखरा, २५ वैशाख — पोखरामा जारी गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ अन्तर्गत जेठको पहिलो साता “सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी” शीर्षकमा राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगितामा कक्षा ८ देखि १२ का विद्यार्थी, एसईई र कक्षा ११ परीक्षा दिएका विद्यार्थीहरू सहभागी हुन सक्नेछन्।


प्रतियोगिता संयोजक डा. तुलसी प्रभास खनालका अनुसार प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेले क्रमशः ५१,१५१, ४१,१४१, ३१,१३१ र २१,१२१ रुपैयाँ नगद पुरस्कार पाउने छन्। प्रतियोगितामा ख्यातिप्राप्त वक्ताहरूको विशेष प्रवचन, मुल्याङ्कन र सम्मान कार्यक्रम पनि रहनेछ।

प्रतियोगितामा ७ मिनेटको प्रस्तुति समय दिइनेछ, जसमा सकारात्मक सन्देश प्रवाह अनिवार्य हुनेछ। सहभागी विद्यालयको संख्या खुला रहनेछ। कास्की बाहिरका सहभागीलाई यात्रा खर्च र बस्न व्यवस्था गरिनेछ। वैशाख मसान्तसम्म नाम दर्ता अनिवार्य गरिएको छ।

कोटिहोममा वैशाख २७ गते एक हजारभन्दा बढी बालिकासहित कन्या पूजा, वैशाख २९ गते चौरासी पूजन तथा शिवलिङ्ग स्थापना, पारिवारिक शान्तिका लागि २१ कोटि दीप प्रज्वलन, तुलादान, विवाह कर्म, रुद्राभिषेकजस्ता विभिन्न धार्मिक अनुष्ठानको आयोजना हुँदैछ।

महायज्ञ अवधिभर विभिन्न राष्ट्रस्तरीय प्रवचनकर्ता, भजन गायक, कलाकार र धर्मगुरुहरूको सहभागिता रहेको छ। मुख्य प्रवचनहरू दिनबन्धु पोखरेल, राधिका दासी, देवी चन्द्रकला सखी र चैतन्यकृष्ण महाराजजस्ता धर्मगुरुहरूले दिनेछन्।

कोटिहोम पोखरा–१७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा सञ्चालन भइरहेको छ र कार्यक्रम जेठ २६ गतेसम्म चल्नेछ।

गण्डकी कोटिहोममा राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता हुने गण्डकी कोटिहोममा राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता हुने Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on May 08, 2025 Rating: 5

No comments

Videos