कोटिहोममा भक्तजनको आस्था: आर्थिक योगदानसँगै लाखौंको जग्गा दान
पोखरा, गण्डकी — पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ भक्तजनको अभूतपूर्व श्रद्धाले नयाँ उचाइमा पुगेको छ। केवल आर्थिक सहयोगमा सीमित नरही, श्रद्धालुहरूले ठूलो परिमाणमा जग्गा दान गर्दै मानव सेवाको अभियानमा जोडिएका छन्।
महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको प्रेरणाले अन्नपूर्ण गाउँपालिका, सल्यानका विष्णु जैसीले ३ रोपनी ३ पैसा र दुर्गादत्त उपाध्याय पौडेलले ५ रोपनी २ पैसा ३ दाम जग्गा दान गरेका छन्। अझ, १०० रोपनीभन्दा बढी जग्गा दान हुने अनुमान गरिएको छ।
महायज्ञको उद्देश्य केवल धार्मिक कर्ममा सीमित नरही ललितपुरको मामाघर अनाथालय र भक्तपुरको छोरीको घर वृद्धाश्रमजस्ता संस्थाहरूको सहयोगमा केन्द्रित छ। महाराजले पोखरामै आश्रम स्थापनाको घोषणा गरेसँगै भक्तजनहरूमा उत्साह चुलिएको छ।
स्व. सूर्य व. केसीको सम्झनामा उनकी धर्मपत्नी प्रेमकुमारी केसीले २ लाख रुपैयाँ दान गरेकी छन् भने राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता सुरु भइसकेको छ। ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकमा भएको प्रतियोगितामा ९० जना विद्यार्थी सहभागी छन्। विजेताहरूलाई नगदसहित सम्मान गरिने छ।
महायज्ञमा ओजस्वी आचार्य, प्रेन्सा रेग्मी, मनीषा पौडेलजस्ता राष्ट्रिय प्रतिभाहरू अतिथि वक्ताको रूपमा सहभागी छन्। शनिवारदेखि अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाले प्रवचन दिइरहेकी छन्, जुन जेठ १६ सम्म चल्नेछ। त्यसपछि राधिका दासीको श्रीमद्भागवत कथा प्रारम्भ हुनेछ।
कोटिहोममा हाल ४ सयभन्दा बढी ब्राह्मणले दैनिक आहुति दिइरहेका छन्। विविध धार्मिक अनुष्ठान, ग्रहशान्ति, विवाह, रोग निवारण, भागवत पाठ, सवा करोड पार्थिव शिवलिंग निर्माण, भूमिदान, तुला दान, दीप प्रज्वलन, तथा विशेष भजन, नृत्य, झाँकीलगायत कार्यक्रमले कोटिहोम क्षेत्र भव्य धार्मिक केन्द्रमा रूपान्तरण भएको छ।
सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर क्षेत्र तथा आसपासको स्थानमा सञ्चालन भइरहेको महायज्ञ जेठ २६ गतेसम्म चल्नेछ।
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
May 25, 2025
Rating:


No comments