पोखरा, २८ वैशाख – पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञले धार्मिक वातावरण थप सशक्त बनाउँदै लगेको छ। महायज्ञमा आजदेखि वाचन प्रवीण पं. दिनबन्धु पोखरेलले प्रवचन सुरु गरेका छन्। उनले आगामी सात दिनसम्म कथा वाचन गर्ने कार्यक्रम तय भएको छ। पोखरेल आफ्नै झाँकी तथा सङ्गीत समूह सहित कथा वाचन गरिरहेका छन्।
शनिवार वाल्मीकि श्रीराम कथा वाचक आचार्य पराकुशजीको विदाइसँगै आइतबारदेखि पोखरेलको प्रवचन सुरु गरिएको हो। कोटिहोममा प्रमुख अतिथि डा. चिन्तामणि योगी तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विपुल पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व महामन्त्री मुकुल ढकाल लगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा लोकदोहोरी गायिका पूर्णकला बिसी र भूमिका गिरीको विशेष प्रस्तुति समेत रहेको थियो।
कोटिहोमको अर्को विशेष आकर्षण भोलि सोमबार बुद्ध पूर्णिमाको अवसरमा आयोजना हुने विशेष कार्यक्रम हो। कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख उपस्थिति रहनेछ। बुद्ध पूर्णिमा विशेष समारोहमा हिन्दू, बौद्ध, किरात लगायत विभिन्न धर्म सम्प्रदायका धर्मगुरुहरू, महात्मा र विद्वानहरूको उपस्थिति रहनेछ। उनीहरूद्वारा धार्मिक प्रवचन र मन्तव्य दिइनेछ।
महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय श्रीकृष्णमूर्ति महाराजले धर्मले समाजलाई विभाजन होइन, समन्वयको बाटो देखाउने बताउँदै, महायज्ञ राष्ट्र, धर्म र मानवताको एकताको प्रतीक भएको स्पष्ट पारेका छन्। आयोजकले पनि धार्मिक सहिष्णुता र आपसी सद्भावलाई सुदृढ पार्ने उद्देश्यले महायज्ञ सञ्चालन गरिएको जनाएको छ।
यसैबीच, कोटिहोममा नियमित रक्तदान कार्यक्रमअन्तर्गत आइतबारसम्म २०० भन्दा बढीले रक्तदान गरेका छन्। भक्तजनको सक्रिय सहभागितालाई प्रोत्साहन गर्न रक्तदान जस्तो पुण्य कार्यको पनि आयोजना गरिएको हो।

0 Comments