भीमेश्वरको शिलामा दुई पटक पसिना

 प्रसिद्ध दोलखा भीमेश्वर मन्दिरको शिलामा शनिवार दिउँसो दुई पटक पसिना आएको छ । पहिलो पटक शनिवार दिउँसो १ः४७ बाट शिलाको बाँयापट्टी पसिना आउन सुरु भएकोमा ३ः५१ बजे रोकिएको र दोस्रो पटक ४ः०५ बजे शिलाको दाँयापट्टीबाट सुरु भै सबैतिर झन्डै १०-१२ मिनेट पसिना आएको  दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष सुरेश श्रेष्ठले बताए । 



शिलामा पसिना आएपछि ठूलो संख्यामा स्थानीय भक्तजनहरु भेला भएका थिए । उनीहरुले ठूलो आवाजमा घण्टा, नगरा बजाएका थिए भने मन्दिरका पुजारी तथा समितिका मानिसले शिलाको पसिना कपासले पुछेका थिए । त्यसैगरी परम्परा अनुसार तान्त्रिक विधिबाट शिलामा पूजा समेत गरिएको कोषाध्यक्ष श्रेष्ठले बताए । 


शिलामा पसिना आएपछि तान्त्रिक विधिबाट पूजा नगरी पसिना रोकिँदैन भन्ने विश्वास रहेको छ । शनिवार पनि भीमेश्वर मन्दिरमा तान्त्रिक विधिबाट पूजा गरेपछि पसिना आउन रोकिएको थियो । भीमेश्वरको शिलामा दायाँ पट्टी पसिना आउँदा राष्ट्रप्रमुलाई असर गर्ने र बायाँ पट्टी पसिना आउँदा जनतालाई असर गर्ने जनविश्वास रहँदै आएको छ । शिलामा पसिना आउँदा शुभ या अशुभ दुवै खाले प्रभाव पर्न सक्ने स्थानीय ज्येष्ठ नागरिकहरुको भनाई छ ।  तर शिलामा पसिना आएसँगै प्रचलित परम्पराअनुसार मन्दिरका पुजारी तथा गुठियारहरुले पूजा पाठ गर्ने प्रचलन रहेको छ । शिलाबाट पसिना आउँदा अनिष्ट हुने जनविश्वास रहिआएको छ ।

शिलामा आएको पसिना पुछेको कपास साथमा राख्दा रोगव्याधी नलाग्ने, यात्रा सफल हुने, मनोकांक्षा पुरा हुने जनविश्वास समेत रहेको छ । 


शिलामा पसिना आएपछि उक्त पसिना पुछेको कपास राष्ट्र प्रमुखकोमा पठाउने र राष्ट्रप्रमुखको तर्फबाट क्षमापुजा गर्ने प्रचलन समेत रहेको छ । 

दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ दोलखा बजारमा रहेको प्रसिद्ध भीमेश्वरको शिलामा अहिलेसम्म २१ पटक पसिना आइसकेको स्थानीयको भनाई छ । 

पछिल्लो पटक २०७८ वैशाख २५ गते भीमेश्वरको शिलामा पसिना आएको समितिका अध्यक्ष भरत श्रेष्ठले बताउनु भयो । भीमेश्वरको शिलामा १९९०, २००७, २०२८, २०४५, २०६३, २०७१, २०७४ मा पनि पसिना आएको स्थानीय ज्येष्ठ सदस्यहरुले बताएका छन् ।

Link: https://www.facebook.com/watch?v=468574066031770

भीमेश्वरको शिलामा दुई पटक पसिना भीमेश्वरको शिलामा दुई पटक पसिना Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on July 21, 2024 Rating: 5

No comments

Videos