टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री कार्यालयमा छलफल

 काठमाडौँ, २३ असार : टोखा–छहरे खोला सुरुङमार्ग निर्माण, नागढुङ्गा सुरुङमार्ग सञ्चालन र स्याफ्रुबेँसी–रसुवागढी सडक सुधारमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरोकार भएका निकायबीच छलफल भएको छ ।


नयाँ आर्थिक वर्षको सुरुआतसँगै सडक पूर्वाधार निर्माणमा तीव्रता दिन र आउँदो दसँै–तिहारलक्षित सवारी व्यवस्थापन सरल हुने गरी पूर्वाधार निर्माण र सुधारमा अहिलेदेखि गृहकार्य गर्न छलफल गरिएको हो । टोखा–छहरेखोला सुरुङमार्गको वातावरणीय अध्ययन प्रतिवेदन निर्माण र स्वीकृतिका सम्बन्धमा देखापरेका समस्या र परियोजनाको सम्भाव्यताका सम्बन्धमा चिनियाँ पक्षले गर्नुपर्ने कार्य र उत्पन्न असमझदारी हल गर्न वन मन्त्रालय तथा अन्य निकायले गर्नसक्ने आवश्यक सहजीकरणका निर्देशन दिइएको प्रधानमन्त्रीका निजी सचिव विनोदबहादुर कुवँरले जानकारी दिनुुभयो ।

नागढुङ्गा सुरुङमार्ग सञ्चालनका लागि भौतिक प्रगति ९२ प्रतिशत पुगिसकेको र निर्माण सम्पन्नपश्चात् सञ्चालन गर्नुपर्ने हुनाले सञ्चालनको कानुनी प्रबन्ध, ढाँचा र त्यसमा देखिएका समस्याका विषयमा छलफल गरिएको छ । यो विषय नेपालकै पहिलो अभ्यास हुन लागेका कारण यसको विस्तृत तयारी गर्न जोड दिइएको थियो ।

चीन सरकारको अनुदानमा निर्माण भइरहेको स्याफ्रुबेँसी–रसुवागढी सडक स्तरोन्नतिमा कूल लम्बाइ ८२ किमीमध्ये हालसम्म ३८ किमी कालोपत्र सम्पन्न भएको तथा नयाँ आर्थिक वर्षमा ठेक्का लगाउन बाँकी १९ किमी पनि ठेक्का लगाउने प्रबन्ध मन्त्रालयले गरिरहेको छलफलमा अवगत गराइएको छ । कुनै सहजीकरण आवश्यक भएमा प्रधानमन्त्री कार्यालयले गर्ने जनाएको छ ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक–विकास सल्लाहकार डा युवराज खतिवडा, प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार किरण पौडेल, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्र, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलगायतको सहभागिता थियो ।

टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री कार्यालयमा छलफल टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री कार्यालयमा छलफल Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on July 07, 2025 Rating: 5

No comments

Videos